१८ वर्ष माथिका सबैले कोरोनाविरुद्धको बुस्टर डोज पाउने
कोरोनाविरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना पुगेका १८ वर्षमाथिका सबै नागरिकले अब बुस्टर डोज पाउने भएका छन् ।
बिहीबार स्वास्थ्य मन्त्रालयले पूरा मात्रा खोप लगाएका १८ वर्ष माथिकालाई बुस्टर डोजका रूपमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो ।बुस्टर डोज खोप दिँदा अग्रपंक्तिमा खटिनेहरू, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रूपमा पछाडि पारिएका व्यक्तिहरूलाई प्राथिमकता दिन भनिएको छ ।
मन्त्रालयका जनस्वास्थ्य अधिकृत सञ्जयकुमार महासेठले सबै ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्र लेखी बुस्टर डोज खोप दिन आग्रह गरेका छन् ।