सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भारी हिमपात, जनजीवन प्रभावित

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ। यस्तै कैलाली र कञ्चनपुरमा पनि वर्षा भइरहेको छ। पहाडी जिल्लाहरूमा बिहानदेखि वर्षा सुरु भएसँगै बिहीबार दिउँसोबाट हिमपात भइरहेको हो।
भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ। ‘बिहानबाट निरन्तर वर्षा र दिउँसोबाट भारी हिउँ पर्न थालेपछि जनजीवन प्रभावित बनेको छ।’ डोटीको बोगटान फुड्सिल गाउँपालिका -४ का स्थानीय देवबहादुर बोहराले भने, ‘चिसोले भन्दा पनि यहाँका स्थानीयलाई सबैभन्दा बढी गाईबस्तु, भेडा बाख्राका लागि आहाराको जोहो गर्न समस्या भएको छ। बाक्लो हिउँ परेपछि घरबाहिर सहजै निस्कन सकिने अवस्था छैन।’
कैलाली र कञ्चनपुरमा बुधबारबाट बाक्लो हुस्सु र बिहीबार बिहानबाट वर्षा भएपछि चिसोले जनजीवन प्रभावित बनेको छ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार डडेल्धुराको साहुखर्क, हगुल्टे लेक, बैतडीको खोड्पे क्षेत्रमा पनि भारी हिमपात भएपछि राजमार्ग अवरुद्ध भएको छ। तत्काल सञ्चालनको सम्भावना नरहेको प्रहरीको भनाई छ। उता बझाङको देउलेक क्षेत्रमा पनि भारी हिमपात भइरहेको छ।