केही ठाउँमा मेघ गर्जन र चटयाङसहित वर्षाको सम्भावना
सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायू सक्रिय हुँदा वर्षा हुने भएको हो ।
आज दिउँसो सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य प्रदेशका पहाडी भूभागहरुका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा तथा वाग्मती प्रदेश र प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज राति देशभर सामान्य देखिपूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेका कारण चिसो बढ्ने र यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।