आउँदो मङ्गलबारपछि मात्र मौसममा सुधार आउने
आउँदो मङ्गलबारपछि मात्र मौसममा सुधार आउने भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन बदली रहने हुँदा देशका अधिकांश भूभागमा घाम नलाग्ने, कतै कतै पानी पर्ने र हिमपात हुनेछ ।शनिबार बिहानदेखि नेपाल प्रवेश गरेको नयाँ पश्चिमी न्यूनचापीय प्रणालीका कारण शनिबार नेपालको पश्चिमी भेग बढी प्रभावित रह्यो ।
अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था कायम भएको थियो तर अपराह्नदेखि मध्य तथा पूर्वी नेपालका धेरै जस्तो भेगमा बदली बाक्लो बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मङ्गलबारपछि मात्र मौसम खुल्ने देखिएको मौसमविद् सजिना शाक्यले बताइन्।
आइतबार र सोमबार देशव्यापी रूपमा बदलीको चाप बढ्नेछ । सो अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका पनि थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनेछ । मौसम बदली थपिँदा थप चिसो महसुस गरिएको छ । अधिकतम तथा न्यूनतम दुवैथरी तापक्रममा गिरावट आएको छ । जसका कारण देशका केही स्थानको जनजीवनमा बढी असर परेको छ ।