प्रचण्डको ‘अर्ली इलेक्सन’ प्रस्ताव,सत्ता गठबन्धनभित्रै अनेक तरंग


सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अर्ली इलेक्सन’को प्रस्ताव गरेपछि नेपालको राजनीति तरंगित भएको छ । प्रचण्डको यो प्रस्तावले सत्ता गठबन्धनसँगै प्रतिपक्षी दलसम्मलाई झस्काएको छ ।

गतवर्ष तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेर चुनावमा जाने निर्णय गर्दा चर्को विरोधमा उत्रिएका प्रचण्डले यत्तिबेला अर्ली इलेक्सनको प्रस्ताव गरेपछि सत्ता गठबन्धन तरंगित भएको हो । सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यो विषयमा मौन रहे पनि काँग्रेसका केही नेताले भने यसको विरोध गरेका छन् ।काँग्रेस महामन्त्री गगन थापाले निर्वाचनको विषयमा निर्णय गर्दा स्थानीय तह रिक्त हुनु असंवैधानिक हुने बताए । असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको सरकार भएकाले यो संविधानको कसीमा रहनुपर्ने उनको भनाइ छ ।
प्रचण्डको प्रस्तावको विषयमा सत्ता गठबन्धभित्रै मतभेद देखिएपछि यो विषयमा गम्भीर छलफल सुरु भएको छ । बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले छलफल गरे ।प्रचण्डको प्रस्तावमाथि शुक्रबार बालुवाटारमा बस्ने सरकार सञ्चालन सम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *