हुम्लामा भारी हिमपात, तापक्रम माइनसमा झरेपछि स्थानीयवासीलाई समस्या
शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ। एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ। यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ।
हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए। ुयस वर्षकै ठूलो हिमपात भयो। घरभन्दा बाहिर निस्कन सकिएको छैन। चिसोले खानेपानीका धारा तथा खोलाका पानीसमेत जमेका छन्,ु लामाले भने। अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन्।
निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली प्रदेशका केही स्थानमा आज मेघगर्जनसहित मध्यम खालको वर्षा हुने जनाएको छ। त्यसैगरी महाशाखाले उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ।