बलिउडका सुपरस्टार दिवंगत अभिनेता राजेश खन्नाको बायोपिक बन्ने


एक समयका बलिउडका ठूला सुपरस्टार दिवंगत अभिनेता राजेश खन्नाको बायोपिक बन्ने भएको छ । यो बायोपिकको कमाण्ड कोरियोग्राफर तथा निर्देशक फराह खानले सम्हाल्नेछिन् । फिल्मको निर्माण अभिनेता तथा निर्माता निखिल द्विवेदीले गर्नेछन् ।

राजेशको बायोपिक उनीमाथि गौतम चिन्तमणिले लेखेको पुस्तक ‘द लोनलिनेस अफ बिइङ राजेश खन्नाः डार्क स्टार’मा आधारित हुनेछ । यो फिल्मको निर्देशनसँगै फराह किताबका लेखकसँग स्क्रिप्ट लेखनमा सहकार्य गर्नेछिन् ।‘हो, मैले राजेश खन्नामाथि गौतम चिन्तामणीले लेखेको पुस्तक पढेकी छु । जुन निकै दिलचस्प पुस्तक छ । योमाथि फिल्म बनाउने हाम्रो कुराकानी भइरहेको छ । अहिलेलाई योभन्दा बढी केही बताउन असमर्थ छु’, फराहले भनेकी छन् ।

निर्माता निखिलले पुस्तकको अधिकार आफूले खरिद गरेकाले फिल्म बनाउने विषयमा फराहसँग छलफल भइरहेको स्वीकारे ।

राजेशको वास्तविक नाम जतिन खन्ना थियो र उनले सन् १९६६ मा चेतन आनन्द निर्देशित फिल्म ‘आखिरी खत’बाट बलिउडमा पाइला चालेका थिए । ‘सुपरस्टार’ शब्द नै राजेशको लोकप्रियता देखेर बनाइएको थियो । आफ्नो समयमा राजेशको विशेषत युवती फ्यान फलोइङ अधिक थिए । उनीप्रति प्रेम दर्शाउन युवतीहरुले रगतको चिठ्ठीसमेत लेखेको खबर बाहिर आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *