हुम्लामा भारी हिमपातले जनजीवन कष्टकर, हवाई उडान प्रभावित
हिमाली जिल्ला हुम्लामा भारी हिमपात हुँदा जनजीवन थप कष्टकर बनेको छ ।
हुम्ला सदरमुकाम सिमकोटमा एक फिटभन्दा बढी हिउँ जमेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले उत्तरी भेग नाम्खा गाउँपालिकाान तीन फिटभन्दा बढी हिउँ जमेको जानकारी दिए ।
‘‘नाम्खा गाउँपालिकाको न्यालु, नारा र यारी लेकमा तीन फिटभन्दा बढी हिउँ जमेको छ । आवतजावत गर्न सकिने अवस्था छैन । सिमकोट विमानस्थलमा रोकिएका विमानको केही भाग पनि हिउँले छोपिएको छ,” प्रजिअ आचार्यले भने ।अहिले हुम्लाको तापक्रम माइनस ८ डिग्रीसम्म पुगेको जनाइएको छ ।
हिमपात हुँदा किसानहरूले भने समयमै बाली लगाउन पाउने हुम्लाको सर्केगाड गाउँपालिका–१ का वडाध्यक्ष गोकुल बुढाले बताए ।‘‘गहुँ, जौ, उवा रोप्ने समय भएको बेलामा हिमपात भयो । अब हिमपात रोकिएर हिउँ पग्लनेबित्तिकै यहाँका किसानलाई हिउँदे बाली लगाउने चटारो सुरु हुन्छ । समयमै हिमपात हुँदा हिउँदे बालीको उत्पादन बढ्छ,” उनले भने ।
यस्तै, स्याउको उत्पादन पनि बढ्ने बुढाले बताए ।