किम्फको १९औँ संस्करण आगामी मंसिर २३ देखि २७ गतेसम्म आयोजना हुने


काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को १९औँ संस्करण आगामी मंसिर २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ। किम्फमा डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, छोटा फिल्म र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी फिल्म अनलाइन र दर्शकको प्रत्यक्ष उपस्थितिमा देखाइने भएको छ।यसपटकको किम्फ चावहिलस्थित चलचित्र विकास बोर्डको सभाकक्षमा हुनेछ।

हाइब्रिड शैलीमा गरिने यसवर्षको किम्फको उपशीर्षक ‘जलवायु कर्म’ राखिएको छ। उक्त उपशीर्षकको माध्यमबाट दर्शकलाई मानिसहरु वातावरणसँग कसरी सम्बन्धित छन् र स्थानीय तथा विश्वव्यापीरुपमा भइरहेका जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्ने सन्देश दिनु फेस्टिभलको उद्देश्य रहेको छ।

किम्फको उद्घाटन समारोहमा भारतको लद्दाखका चर्चित वातावरणविद् र रोलेक्स पुरस्कार विजेता सोनम वाङ्चुकको मुख्य सम्भाषण ९किनोट० प्रस्तुत हुनेछ।

यसवर्ष किम्फ र युरोपेली संघद्वारा नेपाली फिल्म निर्माताका लागि ‘ग्रीन ग्रोथ(ग्रीन रिकभरी’ शीर्षकमा छोटा फिल्मका प्रतिस्पर्धा पनि गरिने भएको छ। किम्फ र सेभ द चिल्ड्रेनले वातावरणका लागि कल टू एक्सनमा टिकटक च्यालेन्ज प्रस्तुत गर्नेछन् भने नेपाली फिल्ममेकरले बनाएका फिल्महरु नेपाली पानोरमामा हेर्न पाइने छ।

स्वीजरल्याण्डका पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्वीजरल्याण्डकी पत्रकार तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र रंगकर्मी अनुप बराल फेस्टिभलका निर्णायक हुन्। निर्णायकले अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ ४० फिल्मबाट उत्कृष्ट तीन र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गर्नेछन्।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रथम हुने फिल्मले २ लाख, दोस्रोले डेढ लाख र तेस्रोले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार र उत्कृष्ट आख्यानात्मक फिल्मले १ लाख रुपैयाँ पुरस्कार दिइनेछ। उत्कृष्ट माउन्टेन फिल्मले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ।महोत्सव अन्तर्गत नेपाल पर्यटन बोर्डमा विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० नेपालले सिरा क्रोवेलको पर्वतीय फोटोग्राफी तथा हिउँ चितुवाका फोटाहरु प्रस्तुत गर्ने भएको छ। क्लाइमेट कर्म विषयक पोस्टर प्रदर्शनी समेत हुने भएको छ।

हिमाल एसोसिएसनले आयोजना गर्ने किम्फको सहआयोजक काठमाडौं महानगरपालिका रहेको छ भने यसको प्रवर्द्धन नेपाल पर्यटन बोर्डले गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *