महाधिवेशनका लागि एमालेले बनायो ११ सदस्यीय अध्यक्षमण्डल
नेकपा (एमाले)ले चितवनमा १०औँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्षमण्डल बनाएको छ । मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डल बनाएको हो ।
अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहेका छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा छन् । नेताहरू लालबाबु पण्डित र गोमा देवकोटालाई पनि अध्यक्षमण्डलमा राखिएको छ ।
त्यसैगरी, सात सदस्यीय बैठकको माइन्युट कमिटी बनाइएको छ । उक्त कमिटीमा पार्टी सचिव पृथ्बीसुब्बा गुरुङसहित सूर्य थापा, विष्णु रिजाल, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।