हाम्रो पार्टीबाट मन्त्री भएकाले भ्रष्टाचार गरे कारबाही गर्छौः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रममा उनले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने जानकारी गराएको बताए ।
उनले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताउँदै शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिए ।