कांग्रेसका १२ नेताले भने, न्यायालय शुद्धीकरणको पक्षमा पार्टि उभियोस्


नेपाली कांग्रेसका १२ जना नेताले न्यायालयमा देखिएको समस्या समाधानका लागि पार्टीले अग्रसरता लिनुपर्ने बताएका छन् ।

गगन थापासहितका १२ नेताले शुक्रबार विज्ञप्ति जारी गरेर पछिल्लो समय न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको विरोधलाई सामान्य रुपमा लिन नमिल्ने उल्लेख गरेका छन् ।‘यस अवस्थामा नेपाली कांग्रेस मुकदर्शक बन्न या घटनाक्रमलाई न्यायालय भित्रको बिषय हो उसैले जानोस भनेर नजरअन्दाज गर्न मिल्छ रु कदापि मिल्दैन । किनकि यो लडाइँ न्यायालयलाई निष्पक्ष, स्वतन्त्र र पवित्र राख्ने कि नराख्ने भन्नेमा केन्द्रित भएकोले, आफ्नो जन्मकालदेखि नै स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा संघर्ष गरेको नेपाली कांग्रेस त झन यस मामिलामा मौन बस्नै मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति निकाल्नेमा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, सरिता प्रसाई, रामकृष्ण यादव र किरण यादव रहेका छन् ।

उनीहरुले अदालतको विषय अदालतले सुल्झाउनुपर्ने, थप टिप्पणी गर्न नहुने भनेर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्तिमा पनि आपत्ति जनाएका छन् ।

न्यायपालिकाको नेतृत्वको शुद्ध न्यायिक आचरण बिना न्यायपालिकाको स्वतन्त्रता सम्भव नहुने र न्यायपालिकाको स्वतन्त्रताबिना कांग्रेसले बिश्वास गरेको उदार लोकतन्त्रको संरक्षण सम्भव नरहेको उनीहरुले उल्लेख गरेका छन् ।

त्यसैले अहिलेको अवस्थामा कांग्रेस स्पष्ट दृष्टीकोणका साथ न्यायलय शुद्धीकरणको लागि भैरहेको लडाइँको पक्षमा उभिनु पर्ने मत उनीहरुले राखेका छन् ।

बीपी कोइरालाले अदालत लोकतन्त्र र राष्ट्रको सजग प्रहरी भएकाले लोकतन्त्रको जग बसाल्न र यसको सुदृढीकरण गर्न न्यायपालिकाको निष्पक्षतालाई अुक्षण्य राख्नुपर्ने भनेको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र र न्यायको आधारभूत मर्म माथि हुने सबै किसिमका प्रहारलाई रोक्नु र अदालतप्रतिको जनबिश्वासलाई डगमगाउन नदिनु कांग्रेसको प्रमुख दायित्व हो ।’

न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताका लागि आज देखिएको समस्या हल गरेर मात्र नपुग्ने भएकाले १२ भाइले न्यायपालिकाको निष्पक्षताका लागि संविधान, कानून, नियत, अभ्यास, शैली र प्रक्रियामा गम्भीर विमर्श गर्दै उपयुक्त निर्णयको खाँचो औल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *