जनस्वास्थ्यमा प्रतिकूल हुने खाद्यवस्तु बिक्री नगर्न प्रशासनको निर्देशन
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनस्वास्थ्यमा प्रतिकूल हुने खालका कुनै पनि खाद्यवस्तुको बिक्रीवितरण नगर्न व्यापारीहरूलाई कडा निर्देशन दिएको छ । बुधबार नक्सालस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गर्न गएको काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसी नेतृत्वको अनुगमन टोलीले वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको मापदण्ड अनुसारमात्रै खाद्य वस्तुहरूको बिक्रीवितरण गर्न व्यापारीहरूलाई सचेत गराएको हो ।
जनस्वास्थ्यलाई ख्याल गरेर मात्रै खाद्य वस्तुहरूको विक्रीवितरण गर्न व्यापारीहरूलाई सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।
अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरलाई पनि खाद्य वस्तुहरूको उत्पादन मिति र लेबलिङ मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको छ ।खाद्यवस्तु जस्तो विषयमा अरू बढी नै संवेदनशील बन्नु पर्दछ । खाद्य वस्तु, गुणस्तर तथा नापतौल विभाग र वाणिज्य विभागले भने अनुसार खाद्यवस्तु विक्री वितरण गर्नुहोला । त्यसमा उत्पादन मिति र लेबलिङको मिति भने देखिने गरी राख्नुहोला । जनताको स्वास्थ्यलाई ख्याल गर्ने र प्रचलित कानुनको पालना गरेर मात्रै व्यापार गर्नु होला भन्ने कुरा गरियो, सहायक प्रमुख जिल्ला अधिकारी केसीले भने ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले चाडपर्वको अवसर पारेर खाद्य वस्तुजस्तो संवेदनशील विषय वस्तुमा जोड दिएर बजार अनुगमनको कामलाई तीव्रता दिइएको छ ।