विप्लव नेतृत्वको नेकपासँगको सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाँणको पहल
गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु गरेका छन् । अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा आइतबार खाणले कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेका छन् ।
उक्त छलफलमा विगतका सहमति कार्यान्वयनका लागि भएका काम तथा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री खाँणले सहमति कार्यान्वयका लागि अहिलेसम्म आफूले नेकपाका नेतासँग गरेका कुराकानी र काम कारवाहीबारे जानकारी दिएका थिए ।
चन्द नेतृत्वको नेकपाले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवुकमार नेपाल, गृहमन्त्री खाँणसहितका नेतालाई भेटेर अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्दै आएको थियो ।