मनसुन अझै सक्रिय, भारी वर्षाको सम्भावना कायमै
नेपालमा मनसुन अझै सक्रिय रहेको छ । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको छ,” मौसम पूर्वानुमान महाशाखाले भनेको छ, “हाल भारतको दक्षिण बिहार तथा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।” न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश २ का एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको पनि संभावना छ ।