बादरी लडाकुहरुको नियन्त्रणमा काबुलको अन्तर्राष्ट्रिय विमानस्थल
अफगानिस्तानमा पूर्ण रुपमा अमेरिकी सेनाको उपस्थिति सकिएको छ। यससँगै तालिवानले सोमवार मध्यरात हवाई फायर गर्दै खुसियाली मनायो। अफगानिस्तानमा पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएको तालिवान समूहका लागि भने अफगानिस्तानको सत्ता सञ्चालन सजिलो भने हुने छैन।
काबुलस्थित हमिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पत्रकारसँग कुरा गर्दै तालिवानका प्रवक्ता जाविहुल्लाह मुजाहिदले देश स्वतन्त्र र सार्वभौम भएको प्रतिक्रिया दिएका छन्। मंगलवार उनले ऐतिहासिक क्षण भएको भन्दै तालिवानको जित ‘हामी सबैको हो’ भन्ने प्रतिक्रिया दिए।
अमेरिकी सेना बाहिरिएसँगै तालिवान समर्थित बादरी लडाकुहरुले काबुलको अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएका छन्।