जलवायु विज्ञानलाई दबाइएको भन्दै आफ्नै मुख सिलाएर विरोध
रुपर्ट मर्डोखका मिडिया आउटलेटहरुमा जलवायु विज्ञानलाई दबाइएको भन्दै एक पादरीले आफ्नो मुख सिलाएर विरोध प्रदर्शन गरेका छन्। ७१ वर्षीय ‘रेभरेन्ड’ टिम हेवेसले लण्डनस्थित न्युज यूकेको कार्यालय बाहिर सांकेतिक रुपमा प्रदर्शन गरेका हुन्।
युट्युबमा पोस्ट भएको एक भिडियोमा हेवेसले मर्डोखलाई ‘जलवायु परिवर्तनलाई इन्कार गर्ने’ व्यक्ति भनेका छन्। उनले मिडिया मालिक मर्डोखको सरकारमा पनि उच्च प्रभाव रहेको भन्दै त्यसकारण सरकार जलवायु संकटमा अर्थपूण कदम चाल्नबाट चुकेको बताए।
पूर्व डेन्टिस्ट समेत रहेका अक्सफोर्डको डिओसिसस्थित चर्च अफ इङल्याण्डका पादरी हेवेससँगै ६२ वर्षीय ‘रेभरेन्ड’ मार्क कोलमेन समेत रहेका छन्। कोलमेनले आफूलाई भेट्न र कुराकानी गर्न भन्दै ‘द टाइम्स न्युजपेपर’का वातावरण सम्पादकलाई पत्र समेत बुझाएका थिए।