मेलम्ची र हेलम्बु नदीमा आएको बाढीले १३ घर बगे
शनिबार रातिदेखिको अविरल वर्षापछि मेलम्ची र हेलम्बु नदीमा आएको बाढीले अहिलेसम्म १३ वटा घर बगाएको छ।सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार ७ वटा पक्की र ६ वटा कच्ची घर बाढीले बगाएको हो।
यी सबै घरहरु असार १ गते आएको बाढीले क्षतिग्रस्त पारेको थियो।यसअघिको बाढीले क्षति पुर्याएका घरहरु मर्मत गरेर बस्न मिल्ने पारिएका भए पनि शनिबार रातिको बाढीले बस्नै नमिल्ने गरि क्षति पुर्याएको उनले जानकारी दिए।
सहायक प्रमुख जिल्ला अधिकारी खनालका अनुसार रेडियो मेलम्चीको भवन पनि बाढीले ढालेको छ।असार १ कै बाढीले डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन। बाढी घटेपछि सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो। पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको हो।
यस्तै बाढीले एउटा झोलुङ्गे पुल पनि पनि बगाएको छ भने अर्को पक्की पुल पनि खतरामा पारेको छ। हेलम्बु गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने ग्यालथुममा रहेको झोलुङ्गे पुल कामै नलाग्ने गरी क्षतिग्रस्त भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए।
यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो। मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ।