कालीगण्डकी डाइभर्सनमा काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सनसँग जोडिएका काम कारवाही नगर्न अन्तरिम आदेश जारी गरेको छ।
प्रधान न्यायाधीश चोलेन्द्रशम्मेशर जबराको इजलासले धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्व रहेको उल्लेख गर्दै नदीको प्राकृतिक बहाबलाई पथान्तर गरी रिजर्भवायल बनाउने, प्रदुषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनास गर्ने लगायतका अन्य प्रकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्यहरु नगर्न भन्दै अन्तरिमक आदेश गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतलाई विपक्षी बनाएर प्रकाशमणि शर्मासहितको निवेदनमाथि सर्वोच्चले यस्तो अन्तरिम आदेश जारी गरेको हो।
कालिगण्डकी नदी विश्वकै पवित्र नदी भएकोले सौन्दर्यलाई असर गर्ने गरी यसको प्राकृतिक बहावलाई परिवर्तन गर्ने ड्याम बनाउने र अन्य प्राकृतिक अमूल्य वस्तु चोरी निकासी हुने कार्य रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा शर्मासहितले असार २५ गते रिट दायर गरेका थिए ।