सिवाईसी लघुवित्तमा शालिग्राम गाभिएपछि २९ गतेबाट एकीकृत कारोबार
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालिग्राम लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको प्राप्ती प्रकृया पुरा गरी असार २९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । यी दुई कम्पनीले जेठ १४ गते छुट्टा छुट्टै सम्पन्न गरेको विशेष साधारण सभाबाट प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २५ गते एकिकृत कारोबारका लागि स्वीकृति प्राप्त भएसँगै कम्पनीहरु एकिकृत कारोबारका लागि जुटेका हुन । दुई कम्पनी एक भई सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन । प्राप्ती पश्चात कम्पनीको रजिष्टार्ड केन्द्रिय कार्यालय बागलुङ्ग जिल्लाको समिक्षालयरोडमा कायम रहने समेत कम्पनीले जानकारी दिएको छ । बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्रप्राप्त“घ” वर्गको राष्ट्रियस्तरको यस कम्पनीले म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेको हो ।
सिवाईसी नेपाल लघुवित्तले प्राप्ती पश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले प्रति कित्ता अंकित मुल्य रु. १००।– दरको कर्मचारी र सामूहिक लगानीकोषलाई समेत गरी कुल ३ लाख ९५ हजार ३३५ दशमलव ९७ कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो ।
आईपीओ निष्कासनको तयारी स्वरुप कम्पनीले असार २५ गते शुक्रवार विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।