एनआईसीको स्वामित्वमा रहेको तीन लघुवित्तको संस्थापक शेयर लिलामीमा
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन लघुवित्त कम्पनीको संस्थापक शेयर असार २७ गते आइतवारदेखि लिलामीमा आएको छ ।
महुली लघुवित्तको ५३ हजार ७० कित्ता, आरएमडीसी लघुवित्तको ३ लाख ७३ हजार ७६५ कित्ता र मेरो माइक्रोफाइनान्सको ५६ हजार ८३८ कित्ता संस्थापक शेयर असार ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो ।
महुली लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ७५२, आरएमडीसी लघुवित्तको प्रतिकित्ता रू. ४७३ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५३४ तोकिएको छ ।
यी शेयर खरिद गर्न चाहनेहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीहरुद्वारा असार २७ गतेपश्चात घोषणा हुने हकप्रद शेयर र लाभांश समेत प्राप्त गर्नेछन् ।
तीनवटै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।