सरकारी कार्यालयका दुई जना कर्मचारीको भरमा दुई जिल्ला !


दुई कर्मचारीले कति वटासम्म जिल्लाको जिम्मेवारी सम्हाल्न सक्ला ! सम्भवत एउटा तर वीरगञ्जमा स्थापना भएको एउटा सरकारी कार्यालयका दुई जना कर्मचारीले दुई वटा जिल्लाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आएका छन् ।

लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । पर्सा र बारामा सेवा पुर्‍याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका-५ कुम्हाल टोलमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दुई जना कर्मचारीको भरमा सञ्चालनमा छन् ।खाद्य सामग्रीसम्बन्धी दुई जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना सङ्कलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्शलगायत सेवा पुर्‍याउनका लागि सो कार्यालय स्थापना भएको हो । कार्यालयमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहित चार जनाको दरबन्दी भए पनि हाल एक जना खाद्य अनुसन्धान अधिकृत र एक जना कार्यालय सहयोगीबाट मात्र सेवा सञ्चालन भइरहेको कार्यालय प्रमुख बिक्की राउतले जानकारी दिए ।

कर्मचारीको अभावमा प्रभावकारी रुपमा सेवा प्रवाह हुन सकिएको छैन् ।प्रमुख एवम् खाद्य अनुसन्धान अधिकृत राउत अनुगमन वा विदामा गएपछि कार्यालय सहयोगी उमेश चौधरीले नै निमित्त भएर कार्यालय सञ्चालन गर्दै आएका छन् ।

स्रोत साधनको अभावमा कार्यालयले गर्ने अनुगमनको काम समेत प्रभावित भएको छ । कार्यालयमा सवारी साधनको नाउँमा एउटा मोटरसाइकलबाहेक अरु छैन । संयुक्त अनुगमनमा जाँदा चार पाङ्ग्रे सवारी साधन भाडा लिएर अनुगमन गर्नुपर्ने बाध्यता रहेको सो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *