काष्ठमण्डप पुनर्निर्माणका लागि एक करोड रुपैयाँ अनुदान
काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप एक करोड रुपैयाँ अनुदान दिएको छ। उपभोक्ता समितिमार्फत पुरानै शैलीमा भइरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप एक करोड रुपैयाँ अनुदान दिएको हो।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले २०७५ को बैशाखबाट शुरु गरेको थियो। शुरुमै काठमाडौं महानगरपालिकाले ५० लाख दिएको थियो। पुनः पाँचरपाँच करोड दिएको महानगरपालिकाले अहिले दिएको अनुदानसहित कुल ११ करोड ५० लाख रुपैयाँ दिएको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिए।
ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समयमै काम सम्पन्न हुनेमा आशावादी रहेको बताए। शाक्यले पुनर्निर्माणको काम ९० प्रतिशत बढी सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटनको चरणमा पुग्ने बताए।