आजबाट थप सक्रिय बन्दै मनसुन, आवश्यक सतर्कता अपनाउन आग्रह
मनसुन आजबाट थप सक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहने हुनाले मनसुन सक्रिय भएको हो ।
मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले विशेष बुलेटिन जारी गर्दै मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने जनाएको विभागले यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
आज दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।