महाधिवेशनसम्म सहकार्य गर्ने तीन नेताको समझदारी


काठमाडौं । नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताहरु महामन्त्री डा. शशांक कोइराला, उपसभापति बिमलेन्द्र निधि र पूर्वमहान्त्री प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच आज पनि लञ्च मिटिङ भएको छ । गत सोमबार उपसभापति निधि निवासबाट सुरु भएको लञ्च मिटिङपछि भेटवार्ता जारी राख्ने समझदारी अनुसार आज महामन्त्री डा. कोइरालाले लञ्च मिटिङ आयोजना गरेका हुन् ।

अव पूर्वमहामन्त्री प्रकाशमान सिंहले लञ्च मिटिङको आयोजना गर्नेछन् । तर, नेताहरुको दोस्रो भेटवार्तासम्म पुग्दा नै नेताहरुले महाधिवेशनसम्म सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन् । महामन्त्री डा. शशांक कोइरालले तीन नेताबीच विश्वासको वातावरण बनेको भन्दै महाधिवेशनसम्म सँगै रहने समझदारी भएको बताएका छन् ।

“एउटा राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्यौं, दोस्रो हाम्रो आगामी महाधिवेशनका बारेमा छलफल गर्यौं,” महामन्त्री कोइरालले भेटवार्ताको अन्त्यतिर भने, “आउँदो १४ औं महाधिवेशनका विषयमा हामीबीचमा एउटा सहमति हुने सम्भावना प्रवल भएर गएको छ ।” उनले तीन नेताबीचमा पार्टीलाई एकजुट बनाएर कसरी लैजाने भन्ने छलफल भइरहेको भन्दै त्यसका लागि सबैलाई एक ठाउँमा राख्ने प्रयत्न हुने बताए ।

“आउँदो अधिवेशनमा हामी तीनजना एकै ठाउँमा छौं,” महामन्त्री कोइरालले भने, “अव हामीले निर्णय गर्छौंं, को सभापति हुने, को महामन्त्री हुने, अव हामीबीच सहमतिमा अघि बढ्ने समझदारी भएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *