सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्र असार २० गतेसम्म विक्रीमा रहने
काठमाडौं । असार ६ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको ऋणपत्र असार २० गतेसम्म विक्रीमा रहनेछ । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरको रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्य सामूहिक लगानीकोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्न लागेको हो । ऋणपत्र विक्रीको छिटो अवधि असार ९ गतेभित्र माग बमोजिम आवेदन नपर्ने देखिएपछि बैंकले ढिलो अवधिसम्मको मिति तोकेको हो । उक्त अवधि अगावै माग बमोजिम आवेदन परेमा ऋणपत्र विक्री बन्द हुने समेत बैंकले जानकारी दिएको छ ।
१० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
बैैंकको यो ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने तथा कर्जा जोखिम मध्यम रहेको इक्रा एनपी डबल वि प्लस रेटिङ्ग प्रदान गरेको छ ।