साइबर क्राइम,टिकटकमा चरित्र हत्या गर्ने भिडियो हाले मुद्दा
अहिले भिडियो शेयरिङ ऐप टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर बनाइएका अश्लील र अमर्यादित भिडियो छ्याप्छ्याप्ती पाइन्छ। नेपाल प्रहरीको साइबर ब्यूरोले त्यस्ता भिडियो शेयर गर्नेलाई बोलाएर पहिलोपटकका लागि सचेत गराउने काम गर्दै आएको छ। साथै साइबर अपराधबारे सचेतना पनि गराउँदै आएको छ।
जानेर वा नजानेर रमाइलोका लागि त्यस्ता भिडियो शेयर भइरहेका बेला प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीले सोमवार विज्ञप्ति जारी गरेर सामाजिक सञ्जालमा अश्लील, अमर्यादित र चरित्र हत्या गर्ने खालका भिडियो शेयर नगर्न आग्रह गरेको छ। शेयर गरेमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने चेतावनी पनि दिएको छ।
ऐनमा त्यस्तो गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने सक्ने व्यवस्था गरिएको छ।