कोरोनाविरुद्धको लडाई अहिले नै जितिएको घोषणा हतार
अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोना भाइरसविरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने दावी गरेका छन् । सङ्क्रमण रोगसम्बन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या घटे पनि जितिसक्यो भन्न अहिले नै नहुने बताएका हुन् । “हामीले अहिले नै कोरोनाभाइरसविरुद्धको जित भइसक्यो भनेर घोषणा गर्न चाहँदैनौँ, किनकी हामी अहिले पनि त्यससँग लडिरहेका छौँ,” उनले भने ।
तर धेरैभन्दा धेरै व्यक्तिहरुले खोप लगाइसकेको र समुदायस्तरमै खोप अभियान पुगेकाले रोगबाट सुरक्षाको अवस्था भने राम्रो रहेको उनको भनाइ छ । अमेरिकी एक प्रतिष्ठित पत्रिकासँगको कुराकानीका क्रममा उनले कोरोनाभाइरसको खतरा भने पूर्ण रुपमा अन्त्य भइनसकेको उल्लेख गरेका छन् ।भाइरसको नयाँ नयाँ संस्करणहरु आइरहेकाले पनि खतरापूर्ण अवस्था भने रहिरहने उनले तर्क गरेका छन् ।