व्यवहारमा आधारित बजेट होइन्,राजनीतिक नारा बेच्ने प्रयास : विपक्षी दल
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को बजेटलाई व्यावहारिक रुपबाट विश्वास गरेर हेर्नेभन्दा निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासका रुपमा हेरिएको प्रतिक्रिया दिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडलद्वारा प्रस्तुत बजेटबाट कांग्रेसले सरकारले अपेक्षा गरेजस्तो एकै पटक अर्थतन्त्र उकालो लाग्ने र राजस्वको लक्ष्य पूरा हुन सक्ने विश्वासिलो आधार नभएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।
कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सरकार निर्वाचन गर्ने योजनामा रहेकाले आफ्नो पार्टीलाई चुनावमा मत बटुल्न सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न नाराका साथ बजेट ल्याइएको आरोप लगाए । उनले भने, “यो व्यवहारमा आधारित बजेट नै होइन, निर्वाचन गराउने परिस्थिति निर्माण गरेर मत बटुल्न ल्याइएको बजेट राजस्वको वास्तविकतामा आधारित नभएको मात्र होइन, कोभिड-१९ को संक्रमणबाट उम्कन ठोस उपाय पनि देखिन्न ।”
नेकपा(माओवादी केन्द्र) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले चुनाव घोषणा गरेर त्यसलाई प्रभावित तुल्याउने ढंगबाट काम चलाउ सरकारले असंवैधानिक कदमका रुपमा बजेट प्रस्तुत गरेको आरोप लगाए । उनले भने, ‘नियमित सेवा र काम गर्नबाहेक पूर्ण बजेट ल्याउन पाइन्थेन, प्रतिनिधिसभाविना नयाँ कर र राजस्वका दर लगाउन वा घटाउन पनि पाइन्न, यो सरकारबाट संविधान विपरीत काम भएको छ, निर्वाचनको बजेट ठोस रुपमा नआउँदा अर्थमन्त्रीलाई प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने कुरा जस्तो आभास पनि भएजस्तो छ ।’