सरकारले सार्वजनिक संस्थानबाट पाउने लाभांश ४८.८७ प्रतिशतले बढ्यो
सरकारको पूर्ण स्वामित्वमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये चालु आर्थिक वर्षको फागुनसम्ममा १८ वटा संस्थान नोक्सानीमा सञ्चालनमा रहेका छन् भने २४ वटा नाफामा र दुई वटाको कारोबार शुन्य रहेको छ। २०७७ असारसम्ममा सार्वजनिक संस्थानहरुमा सरकारको लगानी २ खर्ब ८८ अर्ब ६५ करोड ८५ लाख र ऋण लगानी २ खर्ब ३० अर्ब ८९ करोड ५१ लाख गरी कुल ५ खर्ब १९ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा सरकारको शेयर लगानी र ऋण लगानी क्रमशः ६.१७ प्रतिशत र १९.७९ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा सार्वजानिक संस्थानको कुल सञ्चालन आयमा ९.०३ प्रतिशतले कमी आई ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाख रुपैयाँमा झरेको छ।
आम्दानी घटेपनि सरकारको लाभांश भने बढेको छ। गत वर्ष सार्वजनिक संस्थानबाट सरकारले १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँ लाभांश पाएको छ। यो अघिल्ले वर्षको तुलनामा ४८।८७ प्रतिशतले धेरै हो।गत आर्थिक वर्षमा नाफामा रहेका संस्थानहरुको कुल नाफा ५३ अबै ९२ करोड ९८ लाख रहेको छ भने नोक्सानीमा सञ्चालित संस्थानहरुको कुल घाटा ५ अर्ब ६३ करोड १५ लाख छ। यसरी गत वर्ष सरकारी संस्थानहरुको खुद नाफा ४८ अर्ब २९ करोड रहेको छ। अघिल्लो वर्ष यस्तो नाफा ४८ अर्ब ८९ करोड थियो।