अध्यादेशमार्फत नै १६ खर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै सरकार
काठमाडौं । सरकारले आज अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दैछ । चौतर्फी विरोधकाबीच सरकारले आर्थिक वर्ष २०७८/ ७९ को लागि अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको हो ।अर्थमन्त्री विष्णु पौडेलले दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । संसदका दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि प्रतिनिधि सभा भंग गरेको सरकाले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।
प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट बजेट ल्याउन नहुने, मतदाता प्रभावित पार्ने कार्यक्रम राख्न नहुने, पूर्ण आकारको बजेट ल्याउन नहुनेलगायत सार्वजनिक खबरदारीलाई बेवास्ता गर्दै सरकारले पूर्ण आकार बजेट ल्याउने भएको हो ।
कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद, कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा र वैशाखमा हुने स्थानीय तहको निर्वाचन, राहत तथा आर्थिक पुनरुत्थान प्याकेज, वृद्धभत्ता वृद्धिका कार्यक्रमलाई बजेटमा समावेश गरिएको बताइएको छ ।
बजेट प्रस्तुत गर्नुअघि संसदको दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने प्रतिनिधि सभा नियमावलीमा उल्लेख छ । तर संघीय संसदको प्रतिनिधिसभा भंग र राष्ट्रिय सभा बन्द रहेका अवस्थामा यबजेट पूर्वको छलफल पनि नहुने पक्कापक्की छ ।
पूर्व अर्थमन्त्री, पूर्व प्रधानन्यायाधीश, योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व प्रमुख निर्वाचन आयुक्त लगायतले अध्यादेशमार्फत बजेट नल्याउन दिएको सुझावलाई सरकारले वेवास्ता गरेको छ ।