महामारीबाट नागरिकलाई सुरक्षित बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा उनले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताए ।
“महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ”, ओलीले भने, “सरकार लागिरहेको छ, जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो ।”
उनले नागरिककै जीवन रक्षाका लागि रु ३००/४०० पर्ने अक्सिजन सिलिन्डर चीनबाट एउटैलाई रु ५० हजार तिरेर ल्याइएको र खोप उत्पादन गर्ने देश नभए पनि भारतपछि नेपालले लगाउन पाएको पनि बताए ।
ओलीले कसैको पनि मानव अधिकारको हनन हुन नपाओस् भनेर स्थापनाकालदेखि नै मानव अधिकार आयोगलाई स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न दिनका लागि सरकार सदा सजग रहेको बताउँदै आयोगको ऐन संशोधनलाई प्राथमिकतामा राखिएको पनि बताए ।