बुद्धको विद्रोह जसरी प्रतिगमनविरुद्ध संघर्षमा उत्रिनु एकमात्र विकल्प : प्रचण्ड
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन् ।
गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै प्रचण्डले भनेका छन्, ‘प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामू आज एक मात्र विकल्प रहेको छ । त्यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गर्दछु ।’
बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको उनले उल्लेख गरेका छन् ।
‘सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ । दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँछ। त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा हामीले भोग्दै आएका छौं,’ प्रचण्डको भनाइ छ ।