प्रभु सेलेक्ट फण्डको बिक्री आजबाट खुल्ला,तीन गुणा प्रतिफल दिने दाबी
काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेक्लेक्ट फण्डले बुधवार देखि १० करोड इकाई विक्री खुला गरेको छ । यस फण्डले प्रतिइकार्ई रू. १० अंकित दरको कुल इकाईमध्य ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन गरेको हो । कुल इकाईमध्य १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंकका लागि र १० लाख कित्ता योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखेको छ ।
यो इकाई खरिदका लागि न्यूनतम १०० इकाई देखि अधिकतम ८ करोड ५० लाख इकाईसम्मका लागि आवेदन गर्न सकिनेछ । छिटोमा जेठ ९ गते र उक्त अवधिसम्म माग बमोजिम आवेदन प्राप्त नभएमा ढिलो अवधि जेठ १५ गते सम्म यो इकाई विक्रीमा रहनेछ । इकाई निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै इकाई खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।
प्रभु क्यापिटलले यो इकाई विक्रीका लागि धितोपत्र बोर्डबाट बैशाख १३ गते अनुमति पाएको थियो । बन्दमुखी यस योजनाको अवधि ७ वर्षको रहेको छ ।