इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप छनोट खेलका लागि बन्द प्रशिक्षण शुरु


काठमाडौं। शनिवार नेपाल सुपर लिग (एनएसएल) सकिएसँगै नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सबै खेलाडी पुगेका छन्। इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप छनोट अन्तर्गतको खेलका लागि नेपाली टोली केही दिनयता प्रशिक्षणमा रहेको थियो। सुपर लिग चलिरहँदा बाहिरिएका टीमबाट खेलाडीहरुलाई बोलाएर प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण गराउँदै आएका थिए।

अघिल्लो महिना घरेलु मैदानमा नेपाल, बंगलादेश र कीर्गिस्तान सम्मिलित थ्री नेसन्स कपको उपाधि उचाल्दै सनसनी मच्चाएको नेपालले अब विश्वकप छनोट अन्तर्गतका बाँकी खेल खेल्न तयारी सुरु गर्दैछ। त्यो भन्दाअघि मैत्रीपूर्ण खेल पनि खेल्नैछ नेपालले। फिफा वरीयतामा आफूभन्दा १०३ स्थानमाथि रहेको इराकसँग मे २९ (जेठ २५) मा वार्सा इन्टरनेसनल स्टेडियममा मैत्रीपूर्ण खेल खेल्नेछ।

त्यसमा पनि यसपटक नेपाली टोलीलाई पहिलो पटक प्रशिक्षक दिँदैछन् कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी। थ्री नेसन्स कपपछि नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका उनको नेतृत्वमा नेपाली टोलीले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न गइरहेको छ। त्यसैले पनि मैदानमा खेलाडी प्रशिक्षणमा ब्यस्त छन्।

नेपालले विश्वकप छनोटअन्तर्गतको खेलमा जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ।

यी हुन बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

किरण कुमार लिम्बु (गोलकिपर), दीप कार्की (गोलकिपर), विशाल सुनार (गोलकिपर), अभिशेक रिजाल, अन्जन बिष्ट, एरिक बिष्ट, भरत खवास, दर्शन गुरुङ, विशाल राई, दिनेश राजबंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, कमल थापा, रोहित चन्द, नितिन थापा, सन्तोष तामाङ, शेसेहाङ आङदाम्बे, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, निशान खड्का, पुजन उपरकोटी, अमित तामाङ, सुमन अर्याल, आशिष लामा, आयुस घलान, विवेक बस्नेत, विकास खवास, रवि पासवान, रजिन धिमाल, अनन्त तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *