महामारीमा सरकारको लापरवाहीका कारण मृत्यु हुनेको संख्या बढ्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को महामारीमा सरकारको लापरवाहीका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको आरोप लगाएका छन्। आज मुस्लिम समुदायको पर्व इल उल फित्रको शुभकामना दिँदै देउवाले यस्तो अवस्थामा नागरिक आफै सचेत हुनुको विकल्प नरहेको बताएका छन्।
देश अहिले कोभिड-१९ महामारीको दोस्रो चरणमा छ। सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ, शुभकामना सन्देशमा देउवाले भनेका छन्, यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी छ।
देउवाले यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउन आग्रह गरेका छन्।