नेपालका ५१ जिल्ला कोरोना संक्रमणको ‘रेड जोन’ मा
काठमाडौँ। नेपालका ५१ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ५१ जिल्ला ‘रेड जोन’मा रहेका छन् ।
जसमध्ये ३३ जिल्लामा पाँच सयभन्दा बढी र अन्य १८ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक र नुवाकोटमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्वमा पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, अर्घाखाँची, नवलपरासी पश्चिम र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, बैतडी र अछाम पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी, प्रदेश २ को सर्लाही, सप्तरी र सिरहामा २ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बागमती प्रदेशको सिन्धुली , रामेछाप, दोलखा र रसुवामा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशको पर्वत, तनहुँ, म्याग्दी, स्याङ्जा र लमजुङ पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको गुल्मी र रोल्पा दुई सय बढी संक्रमित रहेका छन्।
कर्णाली प्रदेशको दैलेख र सल्यान २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी सुदुरपश्चिम प्रदेशको डडेलधुरा र डोटी दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।