काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यक बाहेक सबै कार्यालय बन्द
काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड-१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ ।
काठमाडौँ प्रशासनले बुधबार एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गएिको जनाएको छ । ‘निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ’, प्रशासनद्धारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।
सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ । यसैबीच उपत्यकामा बुधबार राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । बुधबार राति १२ बजेदेखि तोकिएको निषेधाज्ञाको समयावधि सकिन लागेकाले रातिदेखिनै लागू हुनेगरी थप दुई हप्ता उक्त आदेश जारी गरिएको हो ।
उपत्यकाको तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको हो ।
उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दे बुधबार राति १२ बजेसम्मका लागि समय थपिएको थियो । संक्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको हो ।
उनका अनुसार यसपाली निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छ । मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।
सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । सार्वजनिक एवम् निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ ।