जसपाका तटस्थ भनिएका नेताहरुको राजनीतिक दौडधुप र सन्देश
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो शीतल निवास पुगेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओलीसँग भेट गरेर महन्थ र राजेन्द्र शीतल निवास पुगेका हुन्। शीतल निवासमा नयाँ सरकार गठन र जसपाको भूमिकाका विषयमा छलफल हुने बुझिएको छ।
प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान धारा ७६ (२) अनुसार गठबन्धन सरकारका लागि आह्वान गरेकी छन्। राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ।
जसपाको महन्थ र राजेन्द्र समूहले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनाउन भइरहेको गठबन्धनमा संलग्न नहुने घोषणासँगै गठबन्धन सरकार नबन्ने सम्भावना बढेको छ। यस्तो बेला राष्ट्रपतिसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।