धमाधम बन्द हुन थाले सिमेन्ट उद्योग
कोरोना भाइरसको दोस्रो भेरिएन्टको संक्रमण ह्वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण उद्योगहरूको उत्पादन क्षमता कम हुन थालेको छ । संक्रमणको डर र निषेधाज्ञाका कारण हाल २५ प्रतिशत सिमेन्ट उद्योग बन्द भइसकेका छन् भने सञ्चालनमा आएका ७५ प्रतिशत उद्योगले कम क्षमतामा उत्पादन गरिरहेका छन् ।डन्डी उद्योगहरूले पनि पूर्ण क्षमतालाई घटाएर दैनिक १०/१२ घण्टा उत्पादन थालेका छन् ।
उद्योग व्यवसायभन्दा पनि मानिसको जीवन रक्षा र संक्रमणरहित रहनु नै प्रमुख चुनौती बनेका बेला उत्पादनतर्फ त्यति ध्यान पु¥याउन नसकिएको उद्योगी व्यवसायीहरू बताउँछन् ।नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले निषेधाज्ञा जारी भएसँगै उत्पादन र माग ह्वात्तै घटेको जानकारी दिए ।
‘अहिले उत्पादन क्षमता घटाएरै भए पनि केही उद्योगहरू चलिरहेका छन्,’ उनले भने, ‘कामदार नै नभएको र भएकामा पनि संक्रमण देखिँदा २५ प्रतिशतजति उद्योग बन्द भएका छन् ।’हालको अवस्थामा साइटमा गएर काम गर्न डराएको र निर्माण पनि सुस्त भएकाले सिमेन्ट डन्डीको माग पनि कम भइसकेको उनले बताए । निषेधाज्ञाकै बीचमा यी निर्माण सामग्रीको माग ५० प्रतिशतजति घटेको अनुमान उनको छ । अहिले खानी उद्योगहरू पनि बन्द भएका छन् ।