अक्सिजनको समानुपातिक र न्यायपूर्ण वितरण बनाउन कार्यविधि


काठमाडौं। कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्रले अक्सिजन उद्योगहरुमा नियमित विद्युत् आपूर्तिको व्यवस्थापन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ।

बजारमा अक्सिजनको आपूर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सिसिएमसिले अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो। कोभिड १९ संक्रमितको संख्या बढे संगै अधिकांश विरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि केन्द्रले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याएको छ। सोही कार्यविधि अनुसार अस्पतालहरुलाई अक्सिजन वितरण गर्ने काम भएको छ। बजारमा माग थेग्ने गरि अक्सिजन उत्पादन हुन नसकेपछि केन्द्रले अहिले ग्यास उद्योगहरुको अनुगमन सुरु गरिसकेको छ। सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सिंहदरबारमा मंगलबार बसेको सीसीएमसीको बैठकमा सचिव खगराज बरालले अक्सिजनको अवस्था र व्यवस्थापनका सम्बन्धमा भएका प्रयास बारे जानकारी गराएका थिए। उनले काठमाडौं उपत्यका र बनेपामा रहेका सबै ९ वटा ग्यास उद्योगहरुको अनुगमन गरि विवरण संकलन गरिएको, अक्सिजन उद्योगको क्षमता वृद्धि र मर्मत कार्यमा सहजीकरण र सहयोग गर्ने,उत्पादन, भण्डारण र वितरणको तथ्यांक अद्यावधिक गर्ने काम भएको बताए। त्यसैगरी अस्पतालहरुलाई अक्सिजनको न्यूनतम कोटा तोकिएको तथा खाली सिलिण्डरहरु संकलन गरि उद्योगमा फिर्ता गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *