हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान कार्य शुरू
कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान कार्य शुरू भएको छ ।
रुख काट्ने कामको थालनीसँगै निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ ।वनको कानूनी अड्चनका कारण २ किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो । १० दिनसम्ममा रुख काट्ने काम सम्पन्न गरेर राजमार्ग निर्माणको काम अघि बढाइने हुलाकी राजमार्ग आयोजनाका इञ्जिनीयर पदम मडैले बताए ।
वसन्ता वन क्षेत्रमा पर्ने १८ किलोमिटर मध्ये १६ किलोमिटर सडकखण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ । कैलारी गाउँपालिकाको बैजपुरदेखि वसन्ता सवडिभिजन वन कार्यालयसम्म बाँकी रहेको २ किलोमिटरमा राजमार्ग विस्तारका लागि रुख कटानको कार्य अगाडि बढाइएपछि आयोजनाको काम अघि बढेको हो ।
गत फागुन महिनामा मन्त्रिपरिषद बैठकले रुख कटानको आदेश दिने निर्णय गरेको २ महिनापछि रुख हटाउने काम अगाडि बढेको हो । सो खण्डमा १०० वटा रुख हटाउन आवश्यक रहेको आयोजना कार्यालयको भनाइ छ ।