रिलायन्स फाइनान्सको नाफा ३७ प्रतिशतले बृद्धि


काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस वर्ष ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा ६ करोड ३२ लाख ४१ हजार रुपैयाँ थियो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३७ दशमलव ३१ प्रतिशत बढी भएको हो । यस वर्ष कम्पनीको सञ्चालन मुनाफा पनि सोही अनुपातमा बृद्धि भएको छ । गत वर्ष ९ करोड ३ लाख ४४ हजार रहेको सञ्चालन मुनाफा यस वर्षको सोही अवधिमा १२ करोड ४० लाख ४९ हजार रुपैयाँ रहेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १० करोड ७९ लाख ३० हजार रुपैयाँ रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरण योग्य नाफा ९६ लाख ५२ हजार रुपैयाँ थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको वितरणयोग्य मुनाफा १० गुणाले बृद्धि भएको हो ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको चुक्तापूँजी स्थिर रहि ८३ करोड २४ लाख १६ हजारनै कायम छ । जगेडा कोष रकम भने ९४ दशमलव ११ प्रतिशत बढेर २४ करोड ४६ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

यस वर्ष कम्पनीको निक्षेप संकलन १८ दशमलव ४५ प्रतिशत बढेको छ भने कर्जा प्रवाह १६ दशमलव ३९ प्रतिशत बढी भएको छ । कम्पनीले ५ अर्ब ७७ करोड ७६ लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरेको हो भने ४ अर्ब १९ करोड २८ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको हो । गत वर्ष २ दशमलव ६३ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा अनुपात यस वर्ष १ दशमलव ८८ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १३ दशमलव ९१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५५ दशमलव ३२ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *