ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजान्छ
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन्।
नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताए।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै नेता पौडेलले ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए।
उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौँ।’सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनर्स्थापनाका लागि आवाज उठाएका तीन दलको बीचमा वार्ता गरी समझदारी बनाई सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनले बताए।
‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमनविरुद्धमा संघर्ष गरेका र पुनर्स्थापनाका लागि आवाज उठाएका तीन वटा दलकोबीचमा पहिले हामी वार्ता गर्छौँ, समझदारी बनाउँछौँ र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौँ,’ उनले भने।