सडकको बीचमा भएको रुखका कारण हुलाकी सडकमा कालोपत्रे हुन सकेन


वीरगञ्ज । सरकारको प्राथमिकतामा परेको वीरगञ्ज ठोरी हुलाकी मध्य भागमा अवस्थित रुखका कारण तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन नसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ ।

तीस÷तीस किलोमिटर गरी दुई प्याकेजमा निर्माण भएको सो हुलाकी सडकखण्डअन्तर्गत दोस्रो प्याकेजको चमरी टोलदेखि ठोरी गाउँपालिका वडा नं १ र २ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको बफरजोन एरिया पर्ने भएकाले र त्यहाँ सडकको बीच भागमा २३ वटा सालको पुरानो रुख काट्न निकुञ्जले अनुमति नदिएकाले सो ठाउँको सडकखण्डमा पिच हुन नसकेको सूचना अधिकारी सञ्जयकुमार ठाकुरले बताए ।

वीरगञ्जदेखि ठोरीसम्म दुई प्याकेजमा निर्माण भएको सो हुलाकी सडक रु दुई अर्ब ११ करोड भारतीय सरकारको अनुदानमा निर्माण भएको हो । सो सडकअन्तर्गत पहिलो प्याकेजमा वीरगञ्जदेखि चमरी टोलसम्म ३० किलोमिटर र दोस्रो प्याकेजमा चमरी टोलदेखि ठोरीसम्म ३० किलोमिटर गरी जम्मा ६० किलोमिटर लम्बाइ रहेको छ ।
विवादको कारण अहिले सो सडकमा ठोरी चमरी टोलदेखि ठोरी गाउँपालिका वडा नं १ सम्म जम्मा २७ किलोमिटर भागमा कालोपत्रे गरिएको छ भने तीन किलोमिटर सडकखण्डको मध्य भागमा २३ वटा सालको पुरानो रुख रहेको र सो रुख काट्न निकुञ्जले अनुमति नदिएकाले सो सडकखण्डमा पिच हुन नसकेको सो कार्यालयका प्रतिनिधि रामनाथ चौधरीले बताए ।

“ठोरी गाउँपालिका वडा नं १ र २ मा रहेको रुख काट्न निकुञ्जले अनुमति नदिएकाले सो ठाउँको सडकमा पिच हुन नसकेको हो”, ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *