चलचित्र समीक्षक समाजको अध्यक्षमा दीपेन्द्र लामा
काठमाडौं । चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा दीपेन्द्र लामा चयन भएका छन् । काठमाडौंमा सम्पन्न साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । विभिन्न सञ्चारमाध्यममा चलचित्र समीक्षा गर्नेहरु सदस्य रहेको ‘फिक्सन’ नेपाल पत्रकार महासंघमा आवद्ध एसोसियट संस्था हो ।
पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्रको उपस्थितिमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा सामीप्यराज तिमल्सेना र स्मृति ढुंगाना, महासचिवमा सजना बराल, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ तथा कोषाध्यक्षमा प्रभाकर गौतमलाई निर्वाचित गरेको छ ।
केन्द्रीय सदस्यमा लेनिन बञ्जाडे, नरेश फुयाँल, अभिमन्यु दीक्षित र रक्षा थापा चयन भएका छन् । महासंघका कोषाध्यक्ष राजेश मिश्र तथा निवर्तमान अध्यक्ष यज्ञसले नयाँ कार्यसमितिको सफलताको कामना गरे ।