प्रचण्डले जस्तो हामीले ओली सरकारलाई समर्थन दिएका छैनौ


जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले नेकपाभित्रको आन्तरिक लडाईंले देशमा संकट आएको बताएका छन् । आज बृहत् नागरिक आन्दोलनले गरेको कार्यक्रममा बोल्दै नेता ठाकुरले नेकपाभित्रको आन्तरिक लडाईंका कारण मुलुक संकटमा परेको बताएका हुन् ।

उनले अहिले नयाँ सरकार निर्माणमा जसपा मुख्य भूमिकामा छ भनिए पनि मुलुक संकटमा परेका बेला आफूहरुको खोजी भएको बताए । ‘मुलुकमा संकट आउँदा मात्रै हाम्रो जरुरत पर्छ । अरुबेला हाम्रो खोजी हुँदैन,’ उनले भने । नेता ठाकुरले ओली सरकारमा भएका कारण आफूहरूले अहिले ओलीसँग वार्ता गरिरहेको भए पनि प्रचण्डले जस्तो ओली सरकारलाई समर्थन नगरेको बताए ।
उनले सरकारमै ओली भएका कारण उनीसँग मधेस र मधेशी जनताको माग पूरा गर्न वार्ता भइरहेको बताए । ‘ओलीलाई समर्थन तपाईंहरू (प्रचण्ड)ले गर्नुभएको छ, आरोप हामीमाथि ?, ठाकुरले प्रश्न गर्दै भने, ‘हामीले त मधेस र मधेशी जनताको माग पूरा गर्न प्रधानमन्त्रीसँग वार्ता गरिरहेका छौं । हामीले प्रधानमन्त्रीलाई समर्थन गरेका छैनौँ, विरोध पनि गरेका छैनौँ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *