महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा
काठमाडौँ। यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको छ ।
पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा नेपाल वेद विद्याश्रमलगायत १०० वटा धार्मिक सङ्घसंस्थाको सहभागिता रहेको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले गरेका थिए । कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइराला, कोषका सदस्यसचिव डा प्रदीप ढकाल, परिषद् सञ्चालक सदस्यद्वय देवीप्रसाद बराल र आशा पाण्डे, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायत कर्मचारीसहित पाँच हजारभन्दा बढीको उपस्थिति रहेको थियो ।
मन्दिर परिसरबाट आरम्भ भएको शोभायात्रा पिङ्गलास्थान, गौशाला जयवागेश्वरी, सिफल, लामपोखरी हुँदै चावहिल गणेशस्थानसम्म पुगेको थियो । पुनः त्यही मार्गबाट फर्किई जयवागेश्वरीबाट मूल मन्दिरअघि पुगेर यात्रा समापन गरिएको थियो । यात्रामा सहभागीले ‘ॐ नम स् शिवाय’, ‘जय शम्भो’, ‘हर हर महादेव’ जस्ता मन्त्रोच्चारण गरेका थिए ।