जलविद्युत् आयोजनाको हब बन्दै सुदूरपश्चिम प्रदेश
बझाङ । सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै गएको छ । प्रदेशका पहाडी जिल्लामा दर्जनौं आयोजना निर्माणधिन अवस्थामा छन् भने कतिपय आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ ।जलविद्युतको अपार सम्भावना भए पनि राज्यले सुदूरपश्चिमलाई चिन्न नसकेको प्रदेशवासीको गुनासो छ । बाह्रैमहिना अटुट रुपमा बगिरहने सेती, महाकाली, चमेलिया र कालङ्गा, बूढी गङ्गालगायत अन्य साना नदीबाट हजारौं मेघावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना छ ।
बझाङ, बैतडी, दार्चुला, अछाम, डोटी, बाजुरामा केही जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । कतिपय जिल्लामा आयोजनाको सम्भाव्यता अध्ययन सकेर निर्माण कार्य शुरु हुने अवस्थामा रहेका छन् । यसरी काम शुरु भइसकेका र सम्भाव्यता अध्ययन भइरहेका आयोजनाको काम समयमै सम्पन्न भए सुदूरपश्चिम प्रदेश देशकै सबैभन्दा बढी विद्युत् उत्पादन गर्ने प्रदेशको रूपमा परिचित हुने उज्यालो सुदूरपश्चिमका अभियान्ता तथा कालङ्गा जलविद्युत् आयोजनाका संस्थापक वीरेन्द्र मल्लले जानकारी दिए ।बझाङ जिल्लामा मात्रै झण्डै एक दर्जन जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । निजी क्षेत्रको लगानीबाट निर्माणाधीन प्रदेशकै सबैभन्दा ठूलो आयोजना कालङगा जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले चैत महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।
बुङगल क्षेत्रको कालङगा नदीमा तीन अलगअलग ठाउँबाट निर्माण शुरु गरिएको १० मेघावाटको कालङगा जलविद्युत् आयोजना, ३८.४६ मेघावाटको अपर कालङगा जलविद्युत् आयोजना र १६ मेगावाटको सानीगाड जलविद्युत् आयोजना गरी ६५ मेघावाट आयोजनाको काम अन्तिम चरणमा छ । निर्माण कम्पनीले आउने दशैँसम्म सबै आयोजनाको निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्ने तयारीमा रहेको जनाएको छ । रासस