१० अर्बको एनआरएन डेभलपमेन्ट फन्डको दर्ता प्रक्रिया सुरु, साढे ८ अर्बको ‘आईपीओ ’पनि

काठमाडौं । गैर आवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना गर्न लागिएको पूर्वाधार कम्पनीका स्थापनाको प्रक्रिया थप अघि बढेको छ । बिहीबार एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष वीवा लामिछाने, अध्यक्ष कुमार पन्त लगायतको अगुवाईमा १ अर्ब रुपैयाँ बराबरको लगानी जुटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । यसअघि सरकारले सो कम्पनीमा ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाइसकेको छ । योसँगै सो कम्पनीका लागि डेढ अर्ब रुपैयाँ जुटेको छ । कम्पनीका वित्तीय सल्लाहकार अनलराज भट्टराईले सो कम्पनीका लागि डेढ अर्ब रुपैयाँ जुटेको बताउँदै थप साढे ८ अर्ब रुपैयाँ आईपीओमार्फत् संकलन गर्ने बताए । सो आईपीओ देशबाट बाहिर रहेका ८ देखि १२ लाख गैर आवासीय नेपालीलाई वितरण गर्ने कम्पनीको योजना रहेको उनको भनाई छ ।
यो आईपीओ मार्फत् गैर आवासीय नेपालीलाई नेपालको पुँजी बजारमा प्रवेश गराउँदै नेपालको पुँजी बजारलाई थप सशक्त बनाउन सहयोग गर्ने भट्टराईले बताए । यो प्रक्रिया सफल भएमा ८ देखि १२ लाख नयाँ बैंक खाता र डिम्याट खाता थप हुने समेत उनले बताए ।